काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ बीचको खेल रद्द भएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा बिहिबार वर्षाले खेल प्रभावित गरेपछि सुदुरपश्चिम र प्रदेश ५ बीचको खेल नतिजाविहीन बनेको हो । खेल नतिजाविहीन बनेसंगै दुवै टोलीले एक एक अंक बाडेका छन् ।
सुदुरपश्चिमले दिएको १८९ रनको मध्यम लक्ष्यसहित प्रदेश ५ ले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुन: सुचारु भएन र खेल रद्द भएको थियो ।
वर्षाले खेल रोकिनुअघि प्रदेश ५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रन बनाएको थियो । प्रदेश ५ का लागि सुबेन्धु पाण्डेले २९ रन जोडेका थिए । सुदुरपश्चिमका विनोद लामाले २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९ ओभर ५ बलमा अलआउट हुँदै १८८ रन बनाएको थियो ।
सुदुरपश्चिमका लागि खडक बोहराले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै नरेश बोहराले ३१,नरेन्द्र साउदले २१ तथा लोकेश बमले १९ रन बनाए ।
प्रदेश ५ का लागि जितेन्द्र सहानी, सिदान्त शाही र कृष्ण कार्कीले २/२ किकेट लिए ।
यस खेल रद्द भएसंगै समूह 'ए' का दुवै टोलीले पहिलो १/१ अंक जोडेको छ । दुवै टोलीले २ खेलबाट १/१ अंक जोडेका हुन् ।
यसअघि सुदुरपश्चिम प्रदेश पहिलो खेलमा एपीएफसंग पराजित भएको थियो । यस्तै प्रदेश ५ पहिलो खेलमा प्रदेश ३ संग पराजित भएको थियो ।