एजेन्सी । विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करणको उद्घाटन खेलमा अहिले इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्याण्डको लण्डनस्थित दि ओभलमा दक्षिण अफ्रीकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । दक्षिण अफ्रिकाले बलिङ रोजेपछि आयोजक इंग्ल्याण्डले केहि बेरमा ब्याटिङ थाल्नेछ ।
आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले एकदिवसीय वरियताको शीर्ष स्थानको इंग्ल्याण्ड र तेस्रो स्थानको दक्षिण अफ्रीकाबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
११ औं संस्करणको विश्वकप सकिदा दुवै टोलीले एकदिवसीय विश्वकप जित्न सकेका छैनन् । यद्दपि इंग्ल्याण्डले ३ पटक फाइनल खेलिसकेको छ । दक्षिण अफ्रिकाले भने फाइनल यात्रा तय गर्न सकेको छैन ।
गत संस्करणको विश्वकपमा इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो भने अफ्रिका सेमिफाइनलमा अभागी साबित भएको थियो ।
घरेलु मैदान दि ओभलमा इंग्ल्याण्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन । इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछन् । यता, दक्षिण अफ्रीका पहिलो खेलमा बलियो इंग्ल्याण्डलाई हराएर विश्वकप यात्रा तय गर्न चाहन्छ ।