एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका अट्याकिङ मिडफिल्डर इडेन हजार्डले क्लब छाड्ने पुष्टि गरेका छन् ।
बुधबार राति आर्सनलविरुद्धको युरोपा लिगको फाइनल खेलपछि हजार्डले आफुले क्लब छाड्ने निर्णय गरिसकेको बताए ।
'मैले निर्णय गरिसकेको छु । र, मैले चेल्सीलाई दुई हप्ता अघि निर्णय सुनाएको थिए । म दुवै क्लबको निर्णयको पर्खाइमा छु, हजार्डले बिटी स्पोर्ट्ससंग भने, 'मलाई लाग्छ यो विदाईको समय हो । मैले सात वर्ष यहाँ बिताए । अब नयाँ चुनौतीको समय हो ।'
अजरबैजानको बेकुमा भएको फाइनलमा आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले युरोपा लिगको उपाधि जितेको थियो । चेल्सीलाई उपाधि दिलाउन हजार्डले महत्वपूर्ण २ गोल समेत गरेका थिए ।
हजार्ड स्पेनिस क्लब रियल मड्रिड जाने बताईएको छ । रियलका अध्यक्ष परेजले पनि हजार्ड ल्याउन चाहेको बताईसकेका छन् ।
यस्तै हजार्डले प्रिमियर लिग खेल्नु आफ्नो सपना रहेको र त्यो आफुले पुरा गरेको बताए ।
'मेरो सपना प्रिमियर लिग खेल्नु थियो । मैले यस ठुलो क्लबबाट त्यो पुरा गरे,' २८ वर्षीय हजार्डले भने ।
बेल्जियमका हजार्डले चेल्सीबाट ३५२ खेलमा ११० गोल गरेका छन् । हजार्डले चेल्सीबाट २ प्रिमियर लिग, २ युरोपा लिग, १ एफए कप र १ लिग कप जितेका छन् ।
यस्तै चेल्सीका प्रशिक्षक माउरिजियो सारीले उनको निर्णयलाई सम्मान गर्ने बताए । 'मलाई थाहा छ उ क्लब छाड्न चाहन्छ । म उनको निर्णयलाई सम्मान गर्छु,' प्रशिक्षक सारीले भने ।