काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
बुधबार भएको खेलमा प्रदेश नम्बर १ लाई ७५ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको १८६ रनको मध्यम लक्ष्य पछ्याएको प्रदेश १ ले ३८ ओभर ३ बलमा अलआउट हुँदै ११० रन मात्र बनाउन सक्यो ।
प्रदेश १ का लागि सन्नी पुनले सर्वाधिक २७ रन बनाए । यस्तै मनिस थापाले १५ रन जोड्दा कप्तान पुष्प थापाले १० रन बनाए।
पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले समान २/२ विकेट लिए । आरिफ शेखको नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४३ ओभर १ बलमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।
पुलिसको जितमा अमित श्रेष्ठले १०६ रनको शतकीय इनिङ्स खेले । यस्तै कुशल भुर्तेलले २४ रन बनाए ।
प्रदेश १ का फिर्दोस अन्सारी,सिदान्त लोहनी,कमल खत्री,पुष्प थापा र दिपेश कँडेलले २/२ विकेट लिए ।
जितसंगै समूह 'बी' को पुलिसले २ खेलबाट ४ अंक जोडेको छ । सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको पुलिस समूहको दोस्रो स्थानमा छ ।
यस समूहमा ३ खेलमा ६ अंक जोडेको आर्मीको ६ अंक छ । पराजित प्रदेश १ ले २ खेलमा अंक जोड्न सकेको छैन ।