काठमाडौं । प्रदेश नम्बर २ ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित निकालेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश नम्बर २ ले १६ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । प्रदेश २ का लागि हरिशंकर साहले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै हसिम अन्सारीले १७ तथा रबी साहले अविजित १६ रन बनाए । कर्णालीका लागि प्रकाश जैशीले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३४ ओभर ४ बलमा अलआउट हुदै ९३ रन बनाएको थियो ।
कर्णालीका लागि प्रकाश जैशीले ३७ र कप्तान रबिन्द्र शाहीले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहरो अंकको स्कोर छुन सकेनन् ।
प्रदेश २ का कुमार थापाले सर्वाधिक ३ विकेट लिए । रशिद खान, शम्शेद शेख र हरीशंकर शाहले समान २-२ विकेट आफ्नो नाममा लेखाए ।
जितसंगै समूह 'बी' को प्रदेश २ ले २ खेलबाट २ अंक जोडेको छ । प्रदेश २ समूहको तेस्रो स्थानमा छ ।
अंकविहीन कर्णाली भने पुछारमा रहेको छ । र, कर्णाली समूह चरणबाटै बाहिरिने लगभग पक्का भएको छ ।