एजेन्सी । कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिली टिमका स्टार नेयमार पुन घाईते भएका छन् । मंगलबार भएको प्रशिक्षणमा उनले चोट बोकेका हुन् ।
उनी मंगलबारका प्रशिक्षण सत्रबाट बाहिरिएका छन् । अभ्यासका क्रममा उनी बाँया घुँडामा समाएको चोट महशुश गरेको देखिन्थ्यो ।
मैदान बाहिरिदै गर्दा नेयमारले निकै असहज महशुश गरेका थिए ।
ब्राजिल टिमको कप्तानको जिम्मेवारी मुक्त गरिए लगत्तै नेयमारको चोटको घटना बाहिर आएको हो ।
नेयमारको स्थानमा क्लब सहकर्मी ड्यानी अल्भेसलाई कप्तानीको जिम्मेवारी दिईएको छ । मुख्य प्रशिक्षक टिटेले अनुशासनको कारण देखाउँदै नेयमारलाई कप्तानीको जिम्मेवारीबाट मुक्त गरेका हुन् ।
विश्वकपको क्वार्टरफाईनलबाट बाहिरिए लगत्तै नेयमारलाई स्थायी कप्तानमा नियुक्त गरिएको थियो ।
नेयमारलाई फ्रेन्च कपमा तीन खेलको प्रतिबन्ध छ । फ्रेन्च कपको फाईनलमा पराजित भएपछि विपक्षी टिमका समर्थकलाई मुक्का प्रहार गरेको भन्दै फ्रान्सको फुटबल संघले नेयमारलाई तीन खेलको प्रतिबन्ध लगाएको थियो ।
त्यस्तै, च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा म्यानचेष्टर युनाईटेडविरुद्वको खेलमा म्याच अफिसियलमाथि आलोचना गरेको भन्दै युईएफले नेयमारलाई तीन खेलको प्रतिबन्ध लगाएको छ ।
सोही कारण नेयमारले अर्को सिजनको च्याम्पियन्स लिगको समुह चरणको तीन खेल गुमाउनेछन् ।