एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ ।
कार्डिफमा मंगलबार भएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले हराएको हो ।
भारतले दिएको ३६० रनको लक्ष्य पछ्याएको बंगलादेशले ४९ ओभर ३ बलमा अलआउट हुँदै २६४ रन मात्र बनाउन सक्यो ।
बंगलादेशका लागि मुस्फिकुर रहिमले ९० तथा लिटोन दासले ७३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
भारतका लागि कुलदिप यादब र युजभेन्द्र चाहलले ३/३ विकेट लिए । जस्प्रित बुम्राहले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३५९ रन बनाएको थियो ।
भारतका लागि महेन्द्र सिंह धोनी र लोकेश राहुलले शतकीय इनिङ्स खेले । धोनीले ११३ रन जोड्दा राहुलले १०८ रन बनाए ।
कप्तान विराट कोहली ४७ रनमा आउट भए । बंगलादेशका रुबेल हुसेन र शाकिब अल हसनले २/२ विकेट लिए ।
इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।