काठमाडौं । ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको उपाधि ब्रिगेड ब्वाइज क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १ - ० ले हराउदै ब्रिगेडले उपाधि जितेको हो ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा ब्रिगेडका लागि अनुप गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै ब्रिगेडले उपाधि जितेको हो । खेलको ८७ औं मिनेटमा अनुपले गोल गर्दै ब्रिगेडलाई तेस्रो संस्करणको उपाधि दिलाए ।
यता, अघिल्ला दुई संस्करणका बिजेता आर्मी भने पाएको अवसरमा चुक्दा उपाधिमा ह्याट्रिक गर्नबाट चुकेको छ । आर्मीले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो ।
यसअघि प्रतियोगितामा ब्रिगेडले फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४ - २ ले पराजित गर्दै आर्मीसंगको भेट पक्का गरेको थियो । आर्मीले भने मोरङ फुटबल क्लबलाई २ – १ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
यो उपाधिसंगै ब्रिगेडले तीन लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका दिनेश हेन्जन, मिडफिल्डर ब्रिगेडका जय गुरुङ,डिफेन्डर आर्मीका विकास खवास, गोलकिपरमा ब्रिगेडका आकाश रानाभाट चुनिए । उत्कृष्ट हुनेले समान १० -१० हजार प्राप्त गरे । यस्तै उत्कृष्ट प्रशिक्षक ब्रिगेडका उजेन श्रेष्ठ चुनिए ।