काठमाडौं । एक्टिभ स्पोर्ट्स क्लब सहिद स्मारक 'सी' डिभिजन छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
लगनखेलको बुद्धिविकास खेल मैदानमा मंगलबार नयाँ नेपाल सरोकार समाजले संयुक्त नमुना युवा क्लबलाई ३-१ ले पराजित गरेपछि एक्टिभ समूह डी बाट शीर्ष स्थानमा रहदै दोस्रो चरणमा पुगेको हो ।
लिग चरणको अन्तिम खेलमा जित निकालेपछि नयाँ नेपाल दोस्रो चरणमा पुग्न सकेन । नयाँ नेपालका लागि विवेक राईले दुई मानस कुमार राईले एक गोल गरे । पराजित संयुक्तका लागि बिशेष आचार्यले एक गोल गरे ।
यस समूहमा एक्टिभको ४ अंक रहदा नयाँ नेपालको ३ अंक रह्यो । संयुक्तले १ अंक जोड्यो ।
यस्तै समूह 'सी' को खेलमा जोरपाटी फुटबल क्लबले डाइनामाइट फुटबल क्लबलाई ४-० ले हरायो । जोरपाटीको जितमा शुसील साहले २ तथा करण लामा र अमित कुँवरले एक एक गोल गरे ।
अन्तिम खेलमा जित निकालेपनि जोरपाटी दोस्रो चरणमा पुग्न सकेन । यस समूहमा झापा फुटबल क्लबसंग समान ४ अंक जोडेपनि जोरपाटी कार्डको आधारमा पछि पर्दै दोस्रो चरणमा पुग्न असफल भएको हो ।
झापा र जोरपाटीको समान अंक र समान गोल हुँदा क्लबले व्यहोरेको कार्डको आधारमा अघिल्लो चरण पुग्ने टोलीको टुंगो लगाईएको हो । यस समूहबाट झापा भाग्यशाली हुँदै दोस्रो चरणमा पुग्यो ।