काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले उमेर समुहको क्लब प्रतियोगिता ललित स्मृति अन्डर १८ च्याम्पियनसिपका लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ ।
एन्फाले सोमबार ए डिभिजन लिग क्लबलाई पत्राचार गर्दै प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको जनाएको छ ।
एन्फा महासचिव ईन्द्रमान तुलाधरले क्लबहरुले आफ्नो पहिलो खेलको २४ घण्टा अगाडीसम्म खेलाडी दर्ता गर्न पाउने उल्लेख गरेको छ । सोमबारबाट खेलाडी दर्ता प्रक्रिया सुरु भएको बताउँदै महासचिव तुलाधरले ए डिभिजनका सबै क्लबलाई पत्र काटिएको जानकारी दिए ।
प्रतियोगितामा ए डिभिजनका १४ क्लबले सहभागिता जनाउनेछन् । क्लबले बढीमा २० र घटीमा १६ खेलाडी दर्ता गराउन पाउने एन्फाले जनाएको छ ।
प्रतियोगितामा थ्री स्टार, मनाङ, पुलिस, आर्मी, एपीएफ, जावलाखेल, संकटा, सरस्वती, फ्रेन्ड्स, च्यासल, हिमालयन, मछिन्द्र, ब्रिगेड ब्वाईज र एनआरटीले प्रतिस्पर्धा गर्नेछन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समुहमा विभाजन गरिनेछ । समुह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ ले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको सुरुको दुई संस्करण आर्मीले जितेको थियो । ब्रिगेड ब्वाईज प्रतियोगिताको साविक विजेता हो ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृण्ण श्रेष्ठको स्मृतिमा संघले प्रत्येक बर्ष उमेर समुहको प्रतियोगिता आयोजना गर्दै आएको छ ।
चौथो संस्करणको च्याम्पियनसिप जेठ २९ गते सुरु हुने छ ।
प्रतियोगितालाई एन्फाले साफ यु–१८ फुटबल च्याम्पियनसिपको तयारीको रुपमा हेरिएको छ । साफ यु–१८ प्रतियोगिता यस बर्ष नेपालमै आयोजना गर्ने दक्षिण एसियाली फुटबल महासंघले निर्णय गरिसकेको छ ।
प्रतियोगिताको आधारमा साफका लागि खेलाडी छनोट गरिने एन्फाका एक पदाधिकारीले बताए ।