एजेन्सी । इटालियन क्लब युभेन्टसले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई शनिबार सार्वजनिक गर्ने तयारी थालेको छ । रियल मड्रिड रोनाल्डो बेच्न तयार भएमा युभेन्टसले रोनाल्डोलाई शनिबार नै सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएका छन् ।
मिरर अनलाइनका अनुसार रोनाल्डो भित्राउन युभेन्टस र रियल मड्रिडबीच अन्तिम चरणको छलफल जारी रहेको छ । र, आफुले अघि सारेको प्रस्ताब रियलले स्वीकार गरेमा युभेन्टसले रोनाल्डोसंग शनिबार नै सम्झौता गर्ने तयारी गरेको समचारमा उल्लेख छ । रोनाल्डो भित्राउन सिरी ए च्याम्पियन युभेन्टसले रियललाई ८८ मिलियन पाउण्डको प्रस्ताब गरेको छ ।
यता, रोनाल्डोले पनि युभेन्टसको प्रस्ताबलाई स्वीकार गरिसकेको समचारमा जनाईएको छ । समचार अनुसार रोनाल्डोले युभेन्टससंग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोको रियलसंगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी रहेको छ । रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए । तर, रोनाल्डो रियलमा खुसी नरहेको र सम्झौता बाँकी रहदै क्लब छाड्ने मनस्थितिमा पुगेको समचारमा उल्लेख छ ।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई पाँच पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।