एजेन्सी । म्यानचेस्टर सिटीका अध्यक्ष खालदुन अल मुबारकले डिफेन्डर भिसेन्ट कोम्पनी कुनै दिन क्लब फर्कनेमा आफु विश्वस्त रहेको बताएका छन् ।
क्लबमा ११ वर्ष बिताएका सिटीका कप्तान कोम्पनीले सिजनको अन्त्यसंगै क्लब छाडेका थिए । तर, क्लबका अध्यक्ष मुबारकले कोम्पनी अझ उत्कृष्ट भएर क्लब फर्कने बताए ।
‘अवश्य पनि यो बिदाई हैन । कोम्पनी परिवारको भाग हो र सधै हुनेछ र यो यात्रा निरन्तर चलिरहन्छ ।’ अध्यक्ष मुबारकले भने, ‘म यो कुरामा विश्वस्त छु कि भविष्यमा केही क्षमता लिएर उ फर्कन्छ ।’
३३ बर्षिय कोम्पनी अहिले खेलाडी र व्यवस्थापकको रुपमा बेल्जियमको क्लब एण्डरलेच्ट पुगेका छन् । जुन उनको पहिलो क्लब समेत हो ।
बेज्लियमका कोम्पनीले सिटीबाट चार प्रिमियर लिग, दुई एफए कप, चार लिग कप र दुई कम्युनिटी सिल्डको उपाधि जितेका थिए । कोम्पनीले सिटीबाट ३ सय ६० खेलमा २० गोल गरेका थिए ।