एजेन्सी । चेल्सीका अट्याकिङ मिडफिल्डर इडेन हजार्ड सम्भवत सिजनको अन्त्यसँगै स्टामफोर्ड ब्रिज छाड्दैछन् ।
बेल्जियमका हजार्ड स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध हुने बताईएको छ । हजार्डले पनि रियल आफ्नो ड्रिम क्लब भएको बताउँदै आएका छन् ।
फ्रान्सको लिलीबाट सन् २०१२ मा चेल्सी आएका हजार्डले चेल्सीबाट अन्तिम खेल युरोपा लिग खेल्ने सम्भावना छ । चेल्सीले मे ३० मा आर्सनलसंग युरोपा लिगको फाइनल खेल्नेछ । त्यसपछि हजार्ड चेल्सीको जर्सीमा नदेखिने सम्भावना रहेको छ ।
चेल्सीका लागि मुख्य खेलाडी रहदै आएका हजार्डले यस सिजन १६ गोल गरेका छन् । र, १५ गोलका लागि पास उपलब्ध गराउन सफल भएका छन् ।
हजार्डले क्लब छाडे चेल्सीमा उनको स्थान लिन सक्ने खेलाडीको चर्चा पछिल्लो समय सुरु भएको छ । हजार्डले क्लब छाडे उनको स्थान लिन सक्ने मुख्य तीन खेलाडीको चर्चा हुने गरेको छ । जसमा, एन्टोनी ग्रिजम्यान,निकोलस पेपे र विलफ्राइड जाहा रहेका छन् ।
हजार्डले चेल्सी छाडेपछि उनको स्थान लिन सक्ने मुख्य खेलाडीको रुपमा एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई लिईएको छ । किनकि ग्रिजम्यानले सिजनको अन्त्यसंगै क्लब छाड्ने घोषणा गरिसकेका छन् ।
विश्वकप विजेता २८ बर्षीय ग्रिजम्यानले आफुलाई एक उत्कृष्ट खेलाडीको रुपमा समेत उभ्याउदै आएका छन् । उनले यस ला लिगा सिजन २१ गोल गरेका थिए ।
ग्रिजम्यानपछि हजार्डको स्थान लिन सक्ने अर्को खेलाडीमा निकोलस पेपे रहेका छन् । इन्ग्लिश मिडियाहरुले फ्रेन्च क्लब लिलीका फरवार्ड पेपेलाई हजार्डको स्थान लिन सक्ने खेलाडीको रुपमा अर्थ्याइएको छ ।
तिव्र गतिका ड्रिबलिङ गर्ने पेपेले यस सिजन २३ गोल र १२ गोलका लागि पास उपलब्ध गराएका छन् ।
यस्तै क्रिष्टल प्यालेसका विलफ्राइड जाहालाई पनि हजार्डको स्थान लिन सक्ने खेलाडीको रुपमा लिने गरिएको छ ।
यस सिजन उनले १० गोल र १० भन्दा बढी गोलका लागि पास उपलब्ध गराएका छन् । चेल्सीका पुर्व स्ट्राइकर जिमीले एक कार्यक्रममा हजार्डको स्थानमा आइभोरी कोष्टका जाहा उपयुक्त हुने बताएका छन् ।