काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ९४ रनले पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको १८६ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली २७ ओभरमा अलआउट हुँदै ९१ रनमा समेटियो ।
कर्णालीका सुशान्त थापाले सर्वाधिक २९ रन बनाए । यस्तै महेश खत्रीले १७ तथा दिनेश अधिकारीले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
कर्णालीलाई सस्तैमा समेट्न पुलिसका आरिफ शेख ४ विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथ र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले ।
दिलिपले ७२ रनको योगदान दिदा कुशलले ६२ रनको योगदान गरे । पुलिसका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
कर्णालीका सुदन पोखरेलले ५ विकेट लिए । यस्तै दिवन पुनले २ विकेट लिए ।
जितसंगै समूह 'बी' को पुलिसले २ अंक जोडेको छ । पुलिस दोस्रो स्थानमा छ । यस समूह ४ जोडेको आर्मी शीर्ष स्थानमा छ ।