काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा प्रदेश नम्बर १ लाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले २६ ओभर ५ बलमा अलआउट हुँदै ९१ रन मात्र जोड्न सक्यो ।
प्रदेश १ का लागि राजन मगरले सर्वाधिक २६ रन जोड्दा मुकुन्द यादवले १८ रन बनाए । यस्तै रबी रोयले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रदेश १ लाई सस्तैमा समेट्न आर्मीका लागि सुशन भारीले ह्याट्रिक विकेट लिए । उनले २६ ओभरको तेस्रो,चौंथो र पाँचौ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे ।
यस्तै करण केसीको नाममा २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ ओभर ३ बलमा अलआउट हुँदै २०४ रन बनाएको थियो ।
आर्मीका लागि राजेश पुलामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हरि बहादुर चौहानले ४१ तथा कप्तान बिनोद भण्डारीले ३० रन बनाए ।
करण केसी २६ रनमा आउट हुँदा कुशल मल्लले १६ रन बनाए । प्रदेश १ का दिपेश कँडेलले ३ विकेट लिए । यस्तै सिदान्त लोहनी, फिर्दोस अन्सारी र मुकुन्द यादवले २/२ विकेट लिए ।
जितसंगै समूह 'बी' को आर्मीले २ खेलबाट ४ अंक जोडेको छ । सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको आर्मी शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रदेश १ र प्रदेश २ अंकविहीन रहेका छन् ।