काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज (आईतबार) दुई खेल हुदैछ । पहिलो खेलमा प्रदेश नम्बर १ र त्रिभुवन आर्मी क्लब तथा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुदैछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे समुह बीका दुई टोली प्रदेश १ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । उद्घाटन खेलमा जित निकालेको आर्मी सोही प्रर्दशनलाई दोस्रो खेलमा समेत निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
पहिलो दिनमा चम्किएका बिनोद भण्डारी र राजु रिजालको ब्याटिङ र साहब आलमको बलिङ हेर्न लायक हुनेछ । उद्घाटन खेलमा आलमले ६ ओभर बलिङ गर्दै २२ रन खर्चिएर ४ विकेट लिएका थिए भने बिनोदले ६६ र राजुले ९० रन बनाएका थिए ।
प्रतियोगिताको पहिलो खेलमा उत्रन लागेको प्रदेश १ को नेतृत्व पुष्प थापाले गर्नेछन् । टिममा सिद्वान्त लोहनी जस्ता राष्ट्रिय टिमबाट खेलेका ब्याट्सम्यान देखिनेछन् ।
यस्तै, मुलपानी क्रिकेट मैदानको उद्घाटन हुने अर्काे खेलमा कर्णाली प्रदेश र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
समुह बी अन्तर्गतकै खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
राष्ट्रिय टिमका अधिकांश अनुहार समवेश पुलिस प्रतियोगिताकै दाबेदार टिम हो । मञ्जित श्रेष्ठ कप्तानीको पुलिसमा अनिल साह, दिलिप नाथ, कुसल भुर्तेल, अमीत श्रेष्ठ, अबिनास कर्ण, सुनिल धमला, दिपेन्द्र ऐरी, आरिफ शेख, पवन सरार्फ, ललित भण्डारी, रामनरेश गिरी, ललित राजवंशी र सागल ढकाल छन् ।
कर्णाली प्रदेशको नेतृत्व भने रबिन्द्र जंग शाहीले गर्नेछन् । अधिकांश युवा खेलाडी सहभागि कर्णालीले बलियो मानिएको पुलिससामु चुनौती पेश गर्नेछ ।