एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा न्युजिल्याण्ड भारतलाई पराजित गरेको छ ।
लन्डनमा शनिबार भएको खेलमा न्युजिल्याण्डले भारतलाई ६ विकेटले पराजित गरेको हो ।
केनिङटोन ओभलमा भारतले दिएको १८० रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
न्युजिल्याण्डका लागि रोस टेलरले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै कप्तान केन विलियमसनले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा मार्टीन गुप्टिलले २२ रन बनाए ।
भारतका जस्प्रित बुम्राह, रविन्द्र जडेजा, हार्दिक पाण्डया र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३९ ओभर २ बलमा अलआउट हुँदै १७९ रन बनाउन सक्यो । भारतका लागि रविन्द्र जडेजाले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै हार्दिक पाण्डयाले ३० रन जोड्दा कुलदिप यादवले १९ रन बनाए । कप्तान विराट कोहली १८ र महेन्द्र सिंह धोनी १७ रनमा आउट भए ।
भारतलाई सस्तैमा समेट्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ तथा जेम्स निशमले ३ विकेट लिए ।
इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।