काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले अवसर पाए एसियाली स्तरमा समेत आफुले प्रमाणित गर्न सक्ने बताएकी छिन् ।
भारतीय महिला लिगमा च्याम्पियन भएर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भण्डारीले दक्षिण एसियामा जस्तै अवसर पाएको खण्डमा एसियाली स्तरमा समेत आफुले प्रमाणित गर्न सक्ने धारणा राखिन् ।
‘अवसर पाउदाँ दक्षिण एसियामा आफुलाई स्थापित गर्न सफल भएको छु । अवसर पाएको खण्डमा एसियाली स्तरमा समेत आफुलाई प्रमाणित गर्न सक्छु भन्ने लागेको छ ।’ उनले सञ्चारकर्मी सामु भनिन् ।
करिब एक महिना चलेको भारतीय महिला लिगमा नेपालका सावित्रा भण्डारी र अनिता बस्नेतले सेथु फुटबल क्लबबाट खेलेका थिए ।
सेथुलाई लिग च्याम्पियन बनाएर दुवै जना आज (शनिबार) स्वदेश फर्किएका छन् ।
दुवै खेलाडीलाई स्वागत गर्न एन्फाका मानार्थ उपाध्यक्ष शिक्षित पराजुली र कार्यसमिति सदस्य पेमा डोम्ला लगायतका फुटबलकर्मी विमानस्थल पुगेका थिए ।
सञ्चारकर्मी समक्ष सावित्राले भारतीय लिगमा आफुहरुलाई सिक्ने अवसर प्राप्त भएको भन्दै प्रर्दशनबाट खुसी रहेको प्रतिक्रिया दिईन् ।
खेलाडीलाई स्वागत गर्दै मानार्थ उपाध्यक्ष पराजुलीले भारतीय लिगमा राम्रो नतिजा ल्याउन सफल खेलाडीलाई बधाई दिदै दुवै महिला खेलाडी राष्ट्रको हिरो रहेको भन्दै प्रशंसा गरेका थिए ।