काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले राष्ट्रिय टिमका कप्तान पारस खड्का नेतृत्वको प्रदेश नम्बर ३ लाई ४१ रनले पराजित गरेको छ ।
शनिबार भएको प्रतियोगिताको दोस्रो खेलमा एपीएफविरुद्व राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको शतक खेर गयो ।
एपीएफले दिएको २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ३ लाई ज्ञानेन्द्रको शतकले जोगाउन सकेन । प्रदेश ३ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्याे ।
कप्तान खड्का ४६ रनमा आउट भएको खेलमा ज्ञानेन्द्रले १ सय १७ रनकाे शानदार शतकिय इनिङ्स खेले । पीएम कपकाे तेस्राे संस्करणमा पहिलाे शतक प्रहार गर्ने ज्ञानेन्द्रले ८ चाैका र ५ छक्का प्रहार गरे ।
ओपनर रित गौतमले २७ र ईशान पाण्डेले १२ रन बनाउनु बाहेक अन्यले दोहरो अंकको स्कोर छुन सकेनन् ।
एपीएफका कमलसिंह ऐरीले ३ तथा अविनाश बोहराले २ विकेट लिए । पृथु बास्कोटा र भुवन कार्कीले समान १-१ विकेट हात पारे ।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८८ रन बनायो ।
एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेले । एपीएफको उच्च स्कोरमा सुमितले ९४ रनको योगदान दिए । १०३ बलको सामना गरेका सुमितले ५ चौका र ६ छक्का प्रहार गरे ।
पृथुले ५८ बलको सामना गर्दै ३ चौका र १ छक्कासहित ५९ रन बनाए । यस्तै प्रदीप सिंह ऐरीले ४० रन जोड्दा अमर सिंह रौटेलाले अविजित २७ रन बनाए ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा मैदानमा उत्रिएको प्रदेश ३ का नन्दन कुमार यादव र जितेन्द्र ठकुरीले ३/३ विकेट लिए ।