काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ का ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले शतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २८९ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको प्रदेश ३ का ज्ञानेन्द्रले शतक बनाएका हुन् ।
राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्रले १०२ बलमा शतक बनाएका हुन् । ज्ञानेन्द्र ११७ रनमा आउट भए । उनले ८ चौका र ५ छक्का प्रहार गरे ।
ज्ञानेन्द्रको शतक प्रतियोगिताको पहिलो शतक हो । अघिल्ला संस्करणमा एपीएफबाट खेल्ने ज्ञानेन्द्र यस संस्करणमा भने प्रदेश ३ बाट खेलेका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८८ रन बनाएको थियो ।