एजेन्सी । चेल्सीका मिडफिल्डर विलियनले युरोपा लिग फुटबलको उपाधि चेल्सीले जित्ने बताएका छन् ।
युरोपा लिगको फाइनलमा चेल्सीले बिहिबार आर्सनलसंग प्रतिस्पर्धा गर्दैछ । तर, फाइनल आउँन पाँच दिन बाँकी रहेको बेला ब्राजिलियन मिडफिल्डर विलियनले क्लबले उपाधि जित्ने दाबी गरेका छन् ।
'हामी निकै बलियो छौं । र,यो खेल जित्न सबै सम्भव छ,' प्ले मेकर विलियनले भने,'हामी पहिले नै आत्मविश्वासी छौँ । किनकि हाम्रो फाइनल सधै राम्रो हुन्छ । हामी यस ट्रफी जित्न चाहन्छौ । र, हामी उपाधिसहित पुनरागमन गर्न चाहन्छौ ।'
यस सिजन पहिलो उपाधिको खोजीमा रहेको चेल्सी प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको थियो । तर, विलियनले यस उपाधि जित्दै चेल्सीको खराब सिजनको अन्त्य गर्ने बताए । जसका लागि टिम पूर्ण रुपमा खेलमा केन्द्रित भएको समेत उनले बताए ।
'मलाई थाहा छ यो मेरो उत्कृष्ट सिजन भएन । म अझै उत्कृष्ट खेल्न सक्छु मलाई थाहा छ । म मात्र हैन, तर सम्पूर्ण टिमको यो उत्कृष्ट सिजन बन्न सकेन । हामी उत्कृष्ट गर्न सक्छौं थाहा छ,' आफ्नो प्रदर्शनबाट असन्तुष्ट रहेको बताउँदै विलियनले भने, 'तर हामीले अन्त्यमा केही लक्ष्य बनाएका थियौ र हामी कुनैमा पुग्यौ । हामी काराबाओ कपको फाइनल, प्रिमियर लिगमा तेस्रो स्थानमा र अहिले हामी युरोपा लिगको फाइनलमा छौँ । यो सिजनको अन्तिम उपाधि हो र हामी ट्रफी जित्छौं । मेरो विचारमा त्यसपछि हाम्रो सिजन राम्रो हुनेछ ।’