एजेन्सी । उरुग्वेका मुख्य प्रशिक्षक ओस्कार ताबरेजले स्टार स्ट्राइकर लुइस स्वारेज कोपा अमेरिका अघि ठिक हुने आशा व्यक्त गरेका छन् ।
बार्सिलोनाका स्ट्राइकर स्वारेज घुँडाको चोटका कारण पछिल्लो समय मैदानबाहिर रहेका छन् । स्वारेज घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेका छन् । जसको कारण स्वारेजले भ्यालेन्सियाविरुद्ध शनिबार राति हुने कोपा डेल रेको उपाधि भिडन्त समेत गुमाउने छन् ।
तर, उरुग्वेका प्रशिक्षक ताबरेजले कोपा अमेरिका आउन एक महिना बाँकी रहेको कारण स्वारेज ठिक हुने आशा रहेको बताए ।
‘मेरो विचारमा उसको राम्रो भईरहेको छ । म तपाईहरुलाई विवरण दिन सक्दिन तर उसले हामीलाई भिडियो र फोटोहरु पठाइरहेको हुन्छ ।’ प्रशिक्षक ताबरेजले भने, ‘उसले आफु ठिक हुने काम गरिरहेको छ । मलाई थाहा छ । जब प्रतिस्पर्धा सुरु हुन्छ । उसले आफ्नो सय प्रतिशत दिन्छ ।’
ब्राजिलमा आयोजना हुने कोपा अमेरिका आगामी जुन १४ बाट सुरु हुँदैछ । र, स्वारेज उरुग्वेका लागि मुख्य खेलाडी मानिएको छ । स्वारेजले यस सिजन बार्सिलोनाबाट २५ गोल गरेका थिए ।
यस्तै प्रशिक्षक ताबरेजले स्वारेज टिमका मुख्य खेलाडी भएपनि उनलाई टिममा बोलाउन हतार नगर्ने बताए ।
‘म हतार गर्न चाहन्न । चोटका आफ्नै परिस्थिति हुन्छ । खेलाडीको कारण हैन । चोटबाट मुक्त हुन उसलेआफुलाई तयार गरिरहेका छन्,' प्रशिक्षक ताबरेजले थपे, 'यो कुरामा उ धेरै अगाडि छ र राम्रो रेर्कड पनि छ । त्यसैले उ हाम्रो टिमको लागि तयार हुनेमा धेरै आशा छ । उ हाम्रोलागि धेरै महत्वपूर्ण छ ।’
गत वर्षको विश्वकपमा स्वारेजको टिम उरुग्वे क्वाटरफाइनलसम्म पुगेको थियो । यस संस्करणको कोपामा उरुग्वेलाई मुख्य दाबेदार मानिएको छ । अघिल्लो संस्करणमा समूह चरण पार गर्न नसकेको उरुग्वेले २०११ मा उपाधि जितेको थियो ।
यस संस्करणमा उरुग्वेले साविकको विजेता चिली,इक्वेडर र जापानसंग समूह चरणमा खेल्नेछ ।