काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विभागीय टिम एपीएफले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको फराकिलो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८८ रन बनायो ।
एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेले । एपीएफको उच्च स्कोरमा सुमितले ९४ रनको योगदान दिए । १०३ बलको सामना गरेका सुमितले ५ चौका र ६ छक्का प्रहार गरे ।
पृथुले ५८ बलको सामना गर्दै ३ चौका र १ छक्कासहित ५९ रन बनाए । यस्तै प्रदीप सिंह ऐरीले ४० रन जोड्दा अमर सिंह रौटेलाले अविजित २७ रन बनाए ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा मैदानमा उत्रिएको प्रदेश ३ का नन्दन कुमार यादव र जितेन्द्र ठकुरीले ३/३ विकेट लिए ।
यसअघि शुक्रबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले क्लबले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा तीन विभागसहित ७ प्रदेशले सहभागिता जनाएका छन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।