काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विद्यालय स्तरीय प्रतियोगिता क्विक्स कपको जिल्ला छनोट जेठ २५ गते सुरु गर्ने भएको छ ।
शुक्रबार एक सुचना जारी गर्दै एन्फाले देशभर सञ्चालन गर्ने विद्यालयस्तरीय प्रतियोगिता जिल्ला स्तरमा जेठ २५ गतेबाट असार २० गतेसम्म गर्ने नयाँ कार्यतालिका सार्वजनीक गरेको हो ।
यसअघि एन्फाले जिल्ला स्तरीय प्रतियोगिता जेठ २१ देखि असार ३१ सम्म, प्रदेश स्तरीय प्रतियोगिता साउन १९ देखि ३२ सम्म र राष्ट्रिय प्रतियोगिता आश्विन १ देखि ११ गतेसम्म सञ्चालन गर्ने जनाएको थियो ।
पहिलो चरणको जिल्ला स्तरीय प्रतियोगिता प्रदेश १ को भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ्ग, पाँचथर, संखुवासभा, सुनसरी, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा हुनेछ ।
त्यस्तै प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा जिल्ला प्रतियोगिता हुनेछ ।
प्रदेश ३ का जिल्लामा सिन्धुली, दोलखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।
गण्डकी प्रदेशमा बाग्लुङ्ग, गोरखा, कास्की, लमजुङ्ग, मनाङ, नवलपुर, स्याङ्जा र तनहुँ रहेका छन् । प्रदेश ५ मा कपिलबस्तु, परासी, रुपन्देही, पाल्पा, दाङ, बाँके र बर्दिया छन् ।
कर्णालीमा जुल्ला, सुर्खेत र जाजरकोट तथा सुदुरपश्चिममा कैलाली, डोटी र कञ्चनपुरमा जिल्ला प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको प्रदेश स्तरीय कार्यक्रम साउन १९ देखि ३२ सम्म र राष्ट्रिय स्तरीय प्रतियोगिता असोज १ देखि असोज १० सम्म सञ्चालन गरिने एन्फाले जनाएको छ ।
प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट खेलाडीलाई एन्फा एकेडेमीमा छनोट गर्ने एन्फाको तयारी छ ।
राष्ट्रिय खेलकुद परिषदको समन्वय र चौधरी ग्रुपको मुख्य प्रायोजनमा एन्फाले छात्र र छात्राको विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
एन्फाले प्रतियोगिताको विजेतालाई ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ दिने तय गरेको छ । तेस्रो हुने टिमले ७५ हजार र चौथो टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।