काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (शनिबार) प्रदेश तीन र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुदैछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ ।
घरेलु क्रिकेटमा एपीएफबाट खेल्दै आएका राष्ट्रिय टिमका कप्तान पारस खड्काले पहिलो पटक प्रदेशको टिमको नेतृत्व गर्दैछन् । उनको नेतृत्वमा प्रदेश तीनले प्रधानमन्त्री कप खेल्नेछ ।
उनको टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल सहितका युवा खेलाडी रहेका छन् ।
शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विभागीय टिम आर्मीले विजयी सुरुवात गरेको छ ।
२७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१ ओभर ४ बलमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो ।
प्रदेश २ का लागि हरी शंकर साहले सर्वाधिक २१ रन बनाएका थिए । यस्तै संसद शेखले १६, सुधीर चौधरीले १५ रन जोड्दा राशिद खानले १४ रन बनाए ।
आर्मीका साहब आलमले ४ विकेट हात पारेका थिए । यस्तै जितेन्द्र मुखिया र सुसन भारीले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ९ विकेट गुमाएर २७८ रन बनाएको थियो ।
आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेलेका थिए । ओपनर राजुले ९० रन जोड्दा बिनोदले ६६ रनको योगदान दिए । १०९ बलको सामना गरेका राजुले ५ चौका र २ छक्का प्रहार गरे । यस्तै बिनोदले ६१ बलमा ९ चौका प्रहार गरे ।
त्यस्तै आर्मीका रोहित कुमार पौडेलले ४७ रन जोड्दा हरि चौहानले २६ रन बनाए । सुशन भारी १२ रनमा अविजित रहे ।प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिए ।
खेलमा आर्मीका राजु रिजाल प्लेयर अफ दि म्याच चुनिए । जितसंगै समूह 'बी' को आर्मीले ३ अंक जोडेको छ ।
प्रतियोगितामा ७ प्रदेश र तीन विभागका टिम समावेश छन् ।