एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई पराजित गरेको छ ।
कार्डिफमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई ८७ रनले पराजित गरेको हो ।
दक्षिण अफ्रीकाले दिएको ३३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ४२ ओभर २ बलमा २५१ रन जोड्दा अलआउट भयो ।
श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले ८७ तथा एञ्जेलो म्याथ्युजले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै कुशल मेन्डीसले ३७ रन जोडे । श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रीकाका एन्डिले लक्कीले ४ विकेट लिए । यस्तै लुंगी नेग्दिले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिन् अफ्रीकाले ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३८ रन जोडे । दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले ८८ तथा हसिम अमलाले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै भान डेर डुसेनले ४० तथा एन्डिले लक्कीले ३५ रन बनाए । श्रीलंकाका सुरंगा लकमाल र नुवान प्रदीपले २/२ विकेट लिए ।
इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप यहिँ मे ३० बाट सुरु हुनेछ ।