काठमाडौं । नेपाली फुटबलको उमेर समूहमा विभागीय टिम त्रिभुवन आर्मी क्लब बलियो टोली हो । अनि उत्तिकै सफल पनि । ललित स्मृति अन्डर १८ च्याम्पियनसिपको अघिल्लो दुई संस्करणको तथ्याङ्ले यस्तै भन्छ । कारण, सुरुवाती दुई संस्करणको उपाधि आर्मीको नाममा छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा अहिले प्रतियोगिताको तेस्रो संस्करण चलिरहेको छ । अझ भनौ प्रतियोगिता सकिन मात्र एक खेल बाँकी छ ।
मुख्य कुरा, उपाधिको भिडन्तमा आर्मीले प्रतिस्पर्धा गर्ने समिकरण तय भएको छ । पक्का छ, उसको कोशिश उपाधिमा लगातार ह्याट्रिक गर्ने हुनेछ । विभागीय टिम आर्मीले घरेलु फुटबलका राखेको दबदबालाई शुक्रबारको खेलमा कायम राख्ला ? यसको धेरै उत्तर बिग्रेड ब्वाईजले दिने चुनौतीमा निर्भर हुनेछ ।
आर्मी प्रशिक्षक चक्र तामाङ समेत फाईनल खेल सजिलो नुहने बताउछन् । सेमिफाईनलको खेलमा संघर्षपुर्ण जित निकालेपछि आर्मी प्रशिक्षकलाई लागेको छ फाईनलमा समेत गाह्रो पर्नेछ ।
सो खेल जित्न आर्मीले दोस्रो हाफको इन्जुरी समयनै कुर्न परेको थियो । समूह चरणमा सानदार जित निकालेको आर्मीले नकआउट चरणमा खासै दमदार प्रर्दशन गर्न सकेको छैन् । त्यसैले समेत प्रशिक्षक तामाङले विपक्षीलाई कम नआँक्ने बताईसकेका छन् ।
‘फाईनल खेल पक्कैपनि सहज हुने छैन् । खेलाडी बढी आत्मविश्वासी बन्दा त्यसको ठुलो मुल्य चुकाउनुपर्ने हुन सक्छ ।’ उनी भन्छन्, ‘क्लबको विरासतले खेलाडीलाई आत्मविश्वास भर्न सक्छ तर मलाई दबाबमा पारेको छ ।’
फाईनल यात्रा तय गरेको ब्रिगेडले कठिन यात्रा तय गरेर आएको हो । उसले फाईनल पुग्न कुपण्डोलको क्लब फ्रेन्ड्सलाई टाईब्रेकरमै हराउन पर्यो । तर बिग्रड ब्वाईजका प्रशिक्षक उजेन श्रेष्ठ फाईनल खेल निकै रोमाञ्चक हुने बताउछन् ।
‘फाईनलमा दुवै टोलीलाई दबाब हुनेछ । हामीले धेरै क्लबको चुनौती पाखा लगाएर फाईनल पुगेका हो ।’ उनले भने, ‘खेलमा प्रेसर लिनुपर्ने केही छैन, प्रेसर दिने हो ।’श्रेष्ठको बुझाईमा उमेर समुहमा सबै पोजिसनमा एकैनाशका खेलाडी पाउन गाह्रो छ । तर सबै खेलाडी फर्ममा भएकाले विभागीय भिडन्तमा बाजी मार्ने उनको दाउ छ ।
‘उमेर समुहमा सबै खेलाडी एकैनाशका हुदैन् । टिम ठिक अवस्थामा छ । सबै खेलाडी फर्ममा छन् । फाईनल खेल फाईनल जस्तै हुनेछ ।’ उनी यसै भन्छन् ।
ब्रिगेड ब्वाईजले लेफ्ट ब्याक सुरज दोङलाई फाईनल खेलमा गुमाउने पक्का भईसकेको छ ।
प्रतियोगितामा १८ टोली सहभागि थिए । प्रतियोगितको विजेताले तीन लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।