काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१ ओभर ४ बलमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो ।
प्रदेश २ का लागि हरी शंकर साहले सर्वाधिक २१ रन बनाए । यस्तै संसद शेखले १६, सुधीर चौधरीले १५ रन जोड्दा राशिद खानले १४ रन बनाए ।
प्रदेश २ लाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ४ विकेट हात पारे । यस्तै जितेन्द्र मुखिया र सुसन भारीले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७८ रन बनाएको थियो ।
आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । ओपनर राजुले ९० रन जोड्दा बिनोदले ६६ रनको योगदान दिए । १०९ बलको सामना गरेका राजुले ५ चौका र २ छक्का प्रहार गरे । यस्तै बिनोदले ६१ बलमा ९ चौका प्रहार गरे ।
त्यस्तै आर्मीका रोहित कुमार पौडेलले ४७ रन जोड्दा हरि चौहानले २६ रन बनाए । सुशन भारी १२ रनमा अविजित रहे ।प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिए ।
खेलमा आर्मीका राजु रिजाल प्लेयर अफ दि म्याच चुनिए । यस्तै भ्यालुएबल प्लेयर आर्मीकै साहब आलम घोषित भए । जितसंगै समूह 'बी' को आर्मीले ३ अंक जोडेको छ ।
प्रतियोगितामा तीन विभागसहित ७ प्रदेशले सहभागिता जनाएका छन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।