एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलमा धेरै कीर्तिमान बनाएका छन् । जुन कीर्तिमानहरु तोड्न निकै कठिन र समय लाग्नेछ ।
अर्जेन्टिनाका मेस्सीले फुटबलमा नबनाएको कीर्तिमान सायद कमै होला । सधै कीर्तिमानको होडमा हुने मेस्सी पुन:अर्को कीर्तिमान नजिक पुगेका छन् ।
मेस्सी यस सिजनको युरोपियन ‘गोल्डेन शु’ को अवार्ड नजिक पुगेका छन् । जुन अवार्ड जिते मेस्सीले गोल्डेन शु अवार्ड लगातार तेस्रो बर्ष जित्दै कीर्तिमान बनाउने छन् । र, समग्रमा ६ पटक गोल्डन शु जित्दै मेस्सीले अर्को इतिहास रच्नेछन् ।
सन् १९६७–६८ बाट युरोपियन लिगमा सर्वाधिक गोलकर्तालाई प्रदान गर्ने गरि गोल्डेन शु अवार्ड दिन सुरु गरिएको थियो । र, पहिलो पटक बेन्फिकाका इसुबिया डा सिल्भाले पोर्चुगिज लिगमा ४२ गोल गर्दै यस अवार्ड जितेका थिए ।
पाँच पटक गोल्डेन शु जितिसकेका मेस्सीले यस सिजन ३६ गोल गरेर अवार्ड जित्ने सूचीको पहिलो स्थानमा रहेका छन् ।
मेस्सी दोस्रो स्थानको पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेभन्दा ४ गोलले अघि रहेका छन् । एमबाप्पेले ३२ गोल गरिसकेका छन् । एमबाप्पेले सिजनको अन्तिम खेल शुक्रबार राति खेल्दैछन् ।
गोल्डेन शु अवार्डमा सर्वाधिक बढी कब्जा जमाउने खेलाडीमा मेस्सीपछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले चार पटक यस अवार्ड उचालेका छन् । तर, यस सिजन रोनाल्डो निकै पछि रहेका छन् ।
मेस्सी यस सिजन अवार्ड जित्दै लगातार तेस्रो पटक अवार्ड जित्दै ह्याट्रिक गर्ने दाऊमा रहेका छन् । जसका लागि एमबाप्पेले लिगको अन्तिम खेलमा कम गोल गर्नुपर्ने हुन्छ ।
गत सिजन मेस्सीले ३४ गोल गर्दै लगातार दोस्रो सिजन गोल्डेन शु अवार्ड जितेका थिए । त्यसअघि मेस्सीले सन् २००९–१० मा ३४ गोल, २०११–१२ मा ५०, २०१२–१३ मा ४६ र २०१६–१७ मा ३७ गोल गर्दै गोल्डेन शु जितेका थिए ।