काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रदेश नम्वर २ लाई जितका लागि २७९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७८ रन बनायो ।
आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । ओपनर राजुले ९० रन जोड्दा बिनोदले ६६ रनको योगदान दिए । १०९ बलको सामना गरेका राजुले ५ चौका र २ छक्का प्रहार गरे । यस्तै बिनोदले ६१ बलमा ९ चौका प्रहार गरे ।
त्यस्तै आर्मीका रोहित कुमार पौडेलले ४७ रन जोड्दा हरि चौहानले २६ रन बनाए । सुशन भारी १२ रनमा अविजित रहे ।
प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिए ।
यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशव कुमार बिष्टले गरेका थिए ।
प्रतियोगितामा तीन विभागसहित ७ प्रदेशले सहभागिता जनाएका छन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।