एजेन्सी । म्यानचेस्टर युनाईटेडका मुख्य प्रशिक्षक ओले गुनर सोल्सायरले अर्को सिजन क्लबलाई खराब प्रर्दशनका लागि कुनै छुट नहुने बताएका छन् ।
नर्वेजियन प्रशिक्षक सोल्सायरले अर्को सिजन क्लब बलियो बनेर आउने तर खराब प्रदर्शनलाई क्लबले छुट नदिने बताए । उनले यस सिजन निराशाजनक प्रदर्शनलाई सुधार गर्न असफल भएको बताउँदै अर्को सिजन त्यो प्रदर्शन नदोहोरिने पनि बताए ।
'हामीले गत सिजन बिर्सनु हुन्न । त्यसबाट हामीले धेरै कुरा सिक्नु पर्छ । गल्तीहरु सुधार्नु पर्छ,' प्रशिक्षक सोल्सायरले भने, 'हामीले योजनाहरु बनाईरहेका छौँ । जुलाई पहिलो दिनका लागि हामी तयार छौँ । तर, त्यहाँ हामीलाई कुनै छुट हुने छैन।'
यस सिजन युनाईटेडले छैटौं स्थानमा रहेर लिग सकाएको थियो । तर, युनाईटेडले सोल्सायरलाई नै प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
यस्तै प्रशिक्षक सोल्सायरले गत सिजन खराब प्रदर्शन गरेपनि क्लबको सहयोगले काम गर्न थप उत्प्रेरित भएको बताए । उनले नजिता आफुविरुद्ध निस्कदा थप उर्जा चाहिने समेत बताए ।
‘म यहाँ आएको मात्र ५ महिना भएको छ । तर, कामका लागि तिमीलाई अधिक ऊर्जा आवश्यक पर्छ । दुखको कुरा तर सत्य कुरा काम तिमिविरुद्ध हुँदा तिमीलाई थप ऊर्जा चाहिन्छ,’ सोल्सायरले भने ।