एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरले आफु छिट्टै फुटबलमा फर्कने बताएका छन् ।
स्पोर्ट्स टेक्नोलोजी कम्पनी प्लेयर मेकरको उद्घाटन अवसरमा बोल्दै प्रशिक्षक वेंगरले फुटबलमा फर्कने बताएका हुन् । तर, आफु फुटबलमा फरक भूमिकामा देखिने समेत उनले बताए ।
'मैले सोचेको छु कि व्यवस्थापनमा छिट्टै फर्कन्छु । तपाई मलाई फुटबलमा फेरी देख्नु हुनेछ । तर, प्रशिक्षकको रुपमा भने मलाई पनि थाहा छैन,' वेंगरले भने ।
आर्सनलमा २२ बर्ष बिताएका फ्रान्सेली प्रशिक्षक वेंगरले गत सिजन क्लब छाडेका थिए । वेंगरले आर्सनललाई ३ पटक प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
अहिले ६९ बर्षिय वेंगर फुटबल सम्बन्धि विभिन्न च्यारिटीहरुमा सहभागी हुँदै आएका छन् ।
फुटबल आफ्नो प्यासन रहेको बताउँदै वेंगरले अबको भूमिका अहिले नै भन्न नसक्ने बताए ।
'अझै फुटबल मेरो प्यासन हो । त्यसले म फर्कनेछु । तर, मेरो क्षमता र भूमिका अहिले बताउँन चाहन्न,' वेंगरले थपे ।
यस्तै प्रशिक्षक वेंगरले आफुलाई अझै आर्सनलको याद आईरहने बताए ।
'मैले आर्सनल र प्रतिस्पर्धा धेरै मिस गर्छु किनकि मैले त्यहाँ मेरो मुटु छाडेको छु । मैले मेरो जीवनको २२ बर्ष क्लबलाई दिएको छु । मैले हरेक मिनेट क्लबलाई दिएको छु,' वेंगरले भने, 'म आर्सनललाई समर्थन गर्छु । यो मेरो सधैको मनपर्ने क्लब हो ।'