एजेन्सी । इंग्ल्याण्डमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको एक अण्डर डग टोली हो-बंगलादेश ।
आगामी साताबाट सुरु हुने विश्वकप बंगलादेशको छैठौं सहभागिता हुनेछ । सन् १९९९ देखि नियमित विश्वकप खेलिरहेको बंगलादेशले गत संस्करणमा कार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । जुन बंगलादेशको सबैभन्दा राम्रो नतिजा हो ।
बंगलादेश आईसीसी एकदिवसीय वरियताको सातौं स्थानमा रहेर विश्वकप खेल्दैछ । वरियतामा बंगलादेशले २ पटकको विश्व विजेता वेष्ट इण्डिज र सन् १९९६ को च्याम्पियन श्रीलंकालाई समेत पछि पारेको छ ।
विश्वकपको मुखमा बंगलादेश निकै राम्रो लयमा देखिएको छ । हालै सम्पन्न वेष्ट इण्डिज, आयरल्याण्डबीचको त्रिदेशीय सिरिज जितेको बंगलादेशी खेलाडीको मनोबल पनि उच्च रहेको छ । बंगलादेशले पहिलो पटक त्रिदेशीय सिरिज जितेको थियो ।
बंगलादेशको १५ सदसीय विश्वकप टिममा ८ खेलाडी अघिल्लो विश्वकप खेलेका खेलाडी रहेका छन् । जुन टिमले इंग्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनल प्रवेश गरेको थियो ।
हरेक संस्करणको विश्वकपमा जित निकाल्न सफल बगलादेशलाई इंग्ल्याण्डको मैदानमा निकै मुस्किल हुने देखिएको छ । तर, बंगलादेशले यस संस्करणमा सेमिफाइनल पुग्ने योजना बनाएको छ ।
बंगलादेशले विश्वकपमा ३२ खेल खेलेको छ जसमा ११ जित हात पारेको छ भने २० खेलमा हार व्यहोरेको छ ।
यस संस्करणमा बंगालदेशले जुन २२ मा दक्षिण अफ्रिकाको सामना गर्दै विश्वकप यात्रा सुरु गर्नेछ ।
प्लेयर्स टु वाच
बंगलादेशका फास्ट बलर मुस्थाफिजुर रहमान विश्वकप टिमका आकर्षणका रुपमा रहने छन् । चोटका कारण लामो समयपछि राष्ट्रिय टिममा फर्किएका उनी स्लो बल तथा योर्करका लागि माहिर मानिन्छन् ।
यस्तैआईसीसी एकदिवसीय वरियताको अलराउण्डरतर्फ शीर्ष स्थानमा रहेका अनुभबी खेलाडी साकिब अल हसन बंगलादेशका लागि भरपर्दा खेलाडी हुन् । उनी बंगलादेशका विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनले २१ खेलमा ५ सय ४० रन बनाएका छन् । यस्तै उनले २३ विकेट हात पार्दा सर्वाधिक विकेट हात पार्ने खेलाडीको रुपमा रहेका छन् ।
बंगलादेशका महबदुल्ला विश्वकपमा शतक प्रहार गर्ने एक्ला खेलाडी हुन् । उनले सन् २०१५ मा दुई शतक प्रहार गरेका थिए । बंगलादेशले साइफुल इस्लाम र तास्किन अहमेदलाई विश्वकपमा गुमाउने छ ।
लामो समय डुब्लिनमा बिताएको बंगलादेशी खेलाडी युरोपिएन वातावरणमा घुलमिल भईसकेका छन् ।