काठमाडौं । फरवार्ड सावित्रा भण्डारीले भारतीय लिगमा अपेक्षा अनुसारको गोल गर्न नसकेको बताएकी छिन् ।
सेथु फुटबल क्लबलाई लिग च्याम्पियन बनाउन १५ गोल गरेकी राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्राले प्रतियोगितामा गरेको गोलबाट आफु सन्तुष्ट नभएको बताईन् ।
‘प्रतियोगिता समग्रमा राम्रो भयो । तर स्कोरमा समस्या भयो । गोल संख्याबाट सन्तुष्ट छैन ।’ सेथुलाई लिग च्याम्पियन बनाएकी सावित्राले खेलपाटीसंग भनिन् ।
लिगको पहिलो खेलमा उत्कृष्ट सुरुवात गरेको उल्लेख गर्दै उनले विपक्षी टिमले रक्षात्मक खेल्दा धेरै गोल गर्न नसकेको बताईन् ।
‘पहिलो खेलनै बलियो टिमविरुद्व प¥यो । हामीले राम्रो जित निकाल्न सफल भयौ । त्यसपछिका टिमहरु हामीसंग रक्षात्मक खेले । सोही कारण धेरै गोल निकाल्न समस्या भयो ।’ उनले थपिन्, ‘त्यस विपरित मनिपुरविरुद्व अन्य टिमले आक्रमक खेल पस्किए । जसको फाईदा मनिपुरकी खेलाडीले उठाए ।’
भारतीय टिमका खेलाडीसंग खेल्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले भारतीय फुटबलकर्मी र सञ्चार माध्यमबाट राम्रो सहयोग पाएको बताईन् ।
भारतीय लिगबाट आफुले निकै कुरा सिक्न पाएको बताउँदै सावित्राले भारतीय खेलाडीको क्षमता, ज्ञान र अनुभव हासिल गर्न आफु सफल भएको उल्लेख गरिन् ।
‘भारतको महिला टिमले नतिजा दिईरहेको छ । त्यहाँका खेलाडीको क्षमता, ज्ञान र अनुभव सिक्न प्रतियोगिता फलदायी बन्यो भन्ने लाग्छ ।’ उनले थपिन्, ‘सामुहिक खेल, टिमको गतिको बिषयमा समेत धेरै कुरा जान्ने मौका मिल्यो ।’
भारतीय लिगमा दुई नेपाली महिला फुटबलरले राम्रो अवसर पाएको उल्लेख गर्दै सावित्राले आफुले विदेशी लिगमा समेत प्रमाणित गरेको बताईन् ।
‘आफु कति सक्षम छु भन्ने जाँच्ने मौका मिल्यो । भारतीय लिगको अनुभवले नेपालमा समेत महिला फुटबलरलाई खेल अनुभवको आवश्यक रहेको देखिन्छ ।’ उनले भनिन् ।
सावित्रा फाइनल खेलमा 'वुमन अफ दी म्याच' समेत घाेषित भएकी थिइन् ।
नेपालका दुई महिला फुटबल खेलाडीले पहिलो पटक भारतीय लिग खेलेका थिए । जसमा फरवार्ड सावित्रा भण्डारीले १५ गोल गर्दै क्लबलाई लिग च्याम्पियन बनाएकी थिईन् । उनकै क्लबबाट नेपाली राष्ट्रिय टिमकी मिडफिल्डर अनिता बस्नेतले समेत खेलेकी थिईन् ।