काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक अन्तर नगरपालिका महिला कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पहिलो संस्करणको प्रतियोगिता जेठ अन्तिम साताबाट सुरु हुने एन्फाले जनाएको छ । प्रतियोगिता जेठ ३१ गतेबाट असार १४ गतेसम्म संचालन हुने एन्फाका महासचिव ईन्द्रमान तुलाधरले खेलपाटीलाई जानकारी गराए ।
प्रतियोगितामा देशभरका १६ नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।
‘एन्फाले १६ नगरपालिकाको सहभागितामा महिला फुटबल गर्न लागेको हो । प्रतियोगिता जेठ ३१ गतेबाट सुरु भएर असार १४ गते सकिनेछ,' महासचिव तुलाधरले भने ।
प्रतियोगिताको सम्पूर्ण खेल शसस्त्र प्रहरी बल एपीएफको हलचोक मैदानमा हुनेछ । प्रतियोगिता लिग कप नकआउटको आधारमा खेलाईने महासचिव तुलाधरले बताए ।
प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् ।
विभागीय क्लबले खेलाडी रिलिज गरेमा एक टिममा विभागका पाँच जना खेलाडीले खेल्न पाउने छन् ।
महिला फुटबलमा अहिले विभागीय टिम एपीएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबमा खेलाडीको बाहुल्यता रहेको छ ।