काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
एकदिवसीय विश्वकपअघि आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहन सफल भएको हो । नयाँ वरियतामा नेपालले १५२ अंक पाएको छ।
आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा पर्न थालेको हो ।
गत माघमा भएको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो । युएईसंगको सिरिजपछि नेपालले अन्य एकदिवसीय खेल खेलेको छैन ।
वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् ।
नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा दक्षिण अफ्रीका रहेका छन् । चौथोमा न्युजिल्यान्ड र पाँचौमा अष्ट्रेलिया रहेको छ ।
खेलाडी वरियताको ब्याटिङतर्फ विराट कोहली शीर्ष, रोहित शर्मा दोस्रो, रोस टेलर तेस्रो,साई होप चौंथो र क्विनटन डी कक पाँचौ स्थानमा रहेका छन् ।
बलिङतर्फ जस्प्रित बुम्राह,ट्रेन्ट बोल्ट, राशिद खान,इमरान ताहिर र कागीसो राबडा क्रमश शीर्ष देखि पाँचौ स्थानमा रहेको छ ।
यस्तै अलराउण्डतर्फ शाकिब अल हसन, राशिद खान,मोहमद नाबी, इमाद वासिम र मिचेल स्टाननर शीर्ष देखि पाँचौसम्म रहेका छन् ।