काठमाडौं । भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनलमा अहिले नेपाली फरवार्ड सावित्रा भण्डारी र अनिता बस्नेत सम्मलित सेथु फुटबल क्लब र मनिपुर पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
गुरु नानक स्टेडियममा जारी खेलमा सेथुले २-१ को अग्रता बनाएको छ ।
पहिलो हाफ सकिदा १-० गोल अन्तरले पछाडी परेको सेथुले दोस्रो हाफमा दुई गोल गरेको हो । नेपालकी सावित्राले ६१ औं मिनेटमा गोल गर्दै सेथुलाई २-१ को अग्रता दिलाएकी हुन् । त्यसअघि सेथुले ५६ औं उमापति देवीको आत्मघाती गोलबाट बराबरी गरेको थियो ।
मनिपुरका राधारानी देवीले ४४ औं मिनेटमा गोल गरिन् ।
अहिले दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८–१ को भारी गोल अन्तरले पराजित गर्दै सेथु उपाधि नजिक पुगेको हो । सेथुको जितमा नेपाली फरवार्ड सावित्राले ह्याट्रिकसहित ४ गोल गरेकी थिईन् । फाइनलमा सेथुले सावित्रासंग उच्च प्रदर्शनको आशा राखेको छ ।
मनिपुरले सेमिफाइनलमा गोकुलम केरेलालाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।