एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले १२ औं संस्करणको विश्वकप क्रिकेट निकै चुनौतिपूर्ण हुने बताएका छन् ।
विश्वकपअघि भारतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान कोहलीले नयाँ ढाँचामा प्रतियोगिता हुने कारण निकै चुनौतिपूर्ण हुने बताएका हुन् ।
'ढाँचाका कारण यो विश्वकप निकै प्रतिस्पर्धात्मक हुनेछ । हरेक टोली बलियो रहेको छ ।' इंगल्याण्ड प्रस्थान गर्नु अघि कप्तान कोहलीले भने ।
नयाँ फर्म्याटमा हुन लागेको विश्वकपमा १० राष्ट्रले सहभागी जनाउने छन् । हरेक राष्ट्रले ९ खेल खेल्दा शीर्ष ४ स्थानमा रहने राष्ट्र सेमिफाइनलमा पुग्नेछन् ।
'दोस्रो पटक विश्वकप खेल्न लागेको अफगानिस्तानले समेत ११ औं संस्करणपछि लोभ लाग्दो सुधार गरेको छ । त्यसैले हामीले क्षमता भन्दा माथिको प्रदर्शन गर्नु जरुरी छ ।' कोहलीले थपे ।
विश्वकपमा भारतले आफ्नो सुरुवाती खेलहरु उपाधिका दाबेदार मानिएका राष्ट्रसंग खेल्नेछ । भारतले पहिलो चार खेलमा दक्षिण अफ्रिका, साबिक विजेता अष्ट्रेलिया, न्युजिल्याण्ड र पाकिस्तानको सामना गर्नेछ ।
यस्तै कप्तान कोहलीले बिपक्षी टोलीलाई कमजाेर आँकलन गरेर आफुहरुले कुनै गलत कदम उठाउन नहुने बताए ।
'राम्रो पक्ष भनेको हरेक खेलमा प्रयाप्त विश्रामको समय रहेको छ । खेलाडीलाई धपडी हुने छैन र हामी फेरी एक समूहमा एक ढिक्का हुने अवसर मिल्नेछ,' कप्तान कोहलीले भने, 'हामीले लगातार चार खेल जित्न महत्वपूर्ण छ जसले हामीलाई लयमा फर्काउनेछ । कुनै राष्ट्रले पनि दोस्रो मौका पाउने स्थान छैन । त्यसैले त यो विश्वकप हो ।'
दुई बर्ष अघि इंगल्याण्डमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई पाकिस्तानले पराजित गरेको थियो । यद्दपी, विश्वकप इतिहासमा पाकिस्तानसंग भारत पराजित भएको छैन ।
'हामीले हरेक टिमलाई व्यक्तिगत रुपमा हेर्न थाल्यौं भने हामी लक्ष्यमा पुग्न असफल हुनेछौं । अभ्यासले खासै फरक पार्दैन, हामीले आफ्नो क्षमतामा विश्वास गर्दै बिपक्षिको कमजोरी मुल्यांकन गर्नु पर्छ,' कोहलीले भने ।