एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अर्को साता इङल्याण्डमा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक इङल्याण्डले दक्षिण अफ्रिकाको अतिथ्यता प्रदान गर्नेछ ।
प्रतियोगितामा सहभागी १० टोलीले एक अर्कासंग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष ४ राष्ट्रले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनल खेल क्रिकेटको घर मानिने लर्डसमा १४ जुलाईका दिन हुनेछ ।
सहभागी हुने १० राष्ट्रले विश्वकप टिम घोषणा गरिसकेका छन् । उनीहरुको तयारी समेत अन्तिम चरणमा पुगिसकेको छ । यद्दपी उनीहरुलाई बुधबारसम्म आफ्नो टोलीमा फेरबदल गर्न सक्नेछन् ।
यस पटकको विश्वकपमा ठुलो रन बन्ने अनुमान गरिएको छ । इंग्ल्याण्डको ब्याटिङ पिच र ब्याट्सम्यानको लयका कारण विश्वकपमा कीर्तिमानी रन बन्ने सम्भावना रहेको क्रिकेटका पण्डितहरु बताउछन् ।
यस संस्करणको विश्वकपमा केहि ब्याट्सम्यानले उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
यस विश्वकपमा ब्याटिङतर्फ प्रभाव जमाउन सक्ने चार खेलाडीको सूची यस प्रकार रहेका छन् ।
१. विराट कोहली
भारतका कप्तान विराट कोहली विश्वको एक उत्कृष्ट ब्याट्सम्यान हुन भन्नेमा कुनै दुविधा छैन । एकदिवसीय वरियताको ब्याटिङमा पहिलो स्थानमा रहेका कोहलीले भारतलाई तेस्रो पटक विश्वकप दिलाउने लक्ष्यमा इङल्याण्ड प्रस्थान गर्नेछन् ।
हालसम्म २ सय २७ खेलमा ४१ शतक सहित १० हजार ८ सय ४३ रन जोडेका कोहलीको औषत ब्याटिङ रेट ५९ दशमलब ५७ को रहेको छ । कोहलीलाई क्रिकेटका लेजेण्ड सचिन तेन्दुलकरको कीर्तिमान भंग गर्न सक्ने एक मात्र खेलाडीको रुपमा हेरिएको छ ।
भारतीय ब्याटिङ अर्डरमा मध्येक्रमका ब्याट्सम्यान बाउन्स र टर्न देखी डगमगाउने गरेपनि कोहलीले आफ्नो ब्याटिङमा स्थिरता कायम राख्न सफल हुँदै आएका छन् । त्यसैले इंग्ल्याण्ड विश्वकपमा कोहलीले उच्च प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ ।
२. रोस टेलर
३५ वर्षे न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलरले ३ संस्करणको विश्वकपमा सहभागिता जनाईसकेका छन् । उनलाई न्युजिल्याण्डका एक सफल खेलाडीको रुपमा हेरिन्छ ।
टेलरले २ सय १८ खेलमा ४८ दशमलब ३४ को औषतमा ८ हजार २६ रन बनाउन सफल छन् । विश्वकप नजिकिदै गर्दा उनी उत्कृष्ट लयमा देखिएका छन् । सन् २०१८ मा ९१ दशमलब २९ को औषत रहेको टेलरको २०१९ मा ७४ दशमलब १३ को रहेको छ । उनी चौथो स्थानमा ब्याटिङ गर्ने गर्छन् ।
न्युजिल्याण्डको उच्च प्रदर्शनमा टेलर सधै नायक हुँदै आएका छन् । यस संस्करणमा पनि टेलरले उच्च प्रदर्शन गर्दै न्युजिल्याण्डलाई सफलता दिलाउने अनुमान गरिएको छ ।
३. डेभिड वार्नर
भारतमा हालै सकिएको आईपीएल क्रिकेटमा निकै उत्कृष्ट प्रदर्शन गर्दै १२ खेलमा ६ सय ९२ रन जोडेका अष्ट्रेलियाका वार्नरले ओरेन्ज क्याप हात पारेका थिए ।
एक वर्षे प्रतिबन्ध पछि राष्ट्रिय टोलीमा स्थान बनाएका वार्नरले अभ्यास खेलमा समेत लोभलाग्दो इनिङस खेलेका थिए । त्यसैले अष्ट्रेलियाको ओपनर वार्नरले यस विश्वकपमा ब्याटिङको जादु देखाउने अनुमान लगाउन सकिन्छ ।
बाँया हाते हार्ड हिटर वार्नरले १ सय ६ एक दिवसीय खेलमा ४३ दशमलब ४२ को औषतमा ४ हजार ३ सय ४३ रन बनाएका छन् ।
४. जोस बट्लर
इङल्याण्डका विकेटकिपर ब्याट्सम्यान बट्लर निकै आक्रामक ब्याटिङ गर्ने गर्छन् । बट्लरलाई जुनै प्रतियोगितामा जस्तै परिस्थितिमा पनि उत्कृष्ट ब्याटिङ गर्ने क्षमता भएको खेलाडीको रुपमा हेरिने गरिछ ।
बट्लर इङल्याण्डका लागि छैठौं स्थानमा ब्याटिङ गर्ने गर्छन् । तर, उनले टिमका लागि सधै उच्च प्रदर्शन गर्ने गर्छन । टिमको उच्च स्कोरमा बट्लरको इनिङ्स सधै महत्वपूर्ण हुन्छ ।
बट्लरले १ सय ३१ खेलमा ४१ दशमलब ५४ को औषत र १ सय १९ दशमलब ५७ को स्ट्राईक रेटमा ३ हजार ५ सय ३१ रन बनाउन सफल छन् ।