एजेन्सी । रुसमा २१ औं संस्करणको विश्वकप फुटबल जारी छ । विश्वकपको क्वाटरफाइनलमा खेलहरु शुक्रबार सुरु हुँदैछ । तर, विश्व फुटबल बजार अहिले अर्कै समचारले तातिएको छ ।
रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको कारण फुटबल बजार हल्लिएको छ । विश्वकपमा रोनाल्डोको प्रदर्शनको कारणले बजार तातिएको हैन । रोनाल्डोको ट्रान्सफरको समचारले बजार तातिएको छ ।
इटालियन सिरी ए क्लब युभेन्टसले रोनाल्डोको लागि रियल मड्रिडसंग ८८ मिलियन पाउण्डको प्रस्ताव गरेको समचारसंगै बजारमा तरङ्ग आएको छ । विश्वकपको समचार छाँयामा परेको छ । के रोनाल्डो युभेन्टस जान्छन् त ? रोनाल्डोलाई रियलले बेच्ला त जस्ता कौतुहलता बढेको छ ।
रियलसंग रोनाल्डोको अनुबन्ध सम्झौता सन् २०२१ सम्म छ । रोनाल्डोको रिलिज क्लउज रियलले ८८६ मिलियन पाउण्ड तोकेको छ । रियललाई उनलाई अझ धेरै सेवा सुविधा दिएको छ । यस्तोमा इटालियन क्लबमा रोनाल्डोको भबिष्य होला त भन्ने चर्चा सुरु भएको छ ।
रुसमा जारी विश्वकपमा पोर्चुगल अन्तिम १६ बाटै घर फर्किएपछि रोनाल्डोको सरुवाबारे चर्चा सुरु भएको हो । रोनाल्डोले यो बिषयमा मुख खोलेका छैनन् । तर, रोनाल्डो रियलमा असन्तुष्ट हुँदै आएको भने पक्कै हो । र, रोनाल्डोले रियल भन्दा अन्य क्लबमा आफ्नो भबिष्य खोजिरहेका छन् ।
युभेन्टसका म्यानेजिङ डिरेक्टर गुइसिप्पे मोरटाले रोनाल्डोको लागि १०० मिलियन युरो खर्चने बताएसंगै ट्रान्सफर बजार चलायमान भएको हो । युभेन्टसको प्रस्तावमा रियल मड्रिडले पनि चासो देखाएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ । युभेन्टसको यो प्रस्तावमा रियलले विचार गरिरहेको बीबीसीले जनाएको छ । रोनाल्डो किन्न सके युभेन्टसले अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हिगुईन किन्दाको रेकर्ड तोड्ने छ । हिगुईन भित्राउन युभेन्टसले ९० मिलियन युरो खर्चेको थियो ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा स्पेनिस क्लब आएका रोनाल्डोलाई युभेन्टसले क्लबमा ल्याउन सहज भने छैन । मुख्य त, ढल्कदो उमेरका रोनाल्डो रियल छाडे पुरानो क्लब फर्कन चाहन्छ । रोनाल्डोले म्यानचेस्टर युनाइटेड फर्कन चाहेको समेत बताईसकेका छन् । रोनाल्डोले सबैभन्दा मन पराउने प्रशिक्षक जोसे मोरिन्हो अहिले युनाइटेडमै रहेका छन् । तर, म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई फिर्ता ल्याउने सम्भावना नरहेको खुलाईसकेको छ ।
विश्वमै सबैभन्दा बढी फ्यान फलोवर्स रहेको रोनाल्डोलाई बेच्न रियलले धेरै पटक सोच्ने छ । रोनाल्डो अहिले रियलको लागि व्यापार समेत हो । रोनाल्डोले रियल छाडे 'इएल क्लासिको' भिडन्त पनि सुन्य जस्तै बन्ने छ । त्यति मात्र हैन अहिलेका पुस्ताका दुई हस्ती रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त पनि देखिने छैन । यसले स्पेनिस लिग र रियलको समर्थक घट्ने छ ।
तर, रियल रोनाल्डोलाई बेच्दै पेरीस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार क्लबमा भित्राउन चाहन्छ । रियल नयाँ स्टार भित्राएर आफु सधै स्टार बनिरहन चाहन्छ । रोनाल्डो क्लबमै रहे नेयमार रियल आउन हिच्किचाउने छ । पछिल्लो बर्ष रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसंगको सम्बन्धले पनि रोनाल्डोले क्लब छाड्ने मनस्थिति बनाएको बुझिएको छ ।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई पाँच पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । तर, बढ्दो उमेर र घट्दो स्टारडमका कारण रियलले रोनाल्डोलाई बेच्न सक्ने बताइन्छ । निकै महत्वाकांक्षी क्लब रियल क्लबमा नयाँ स्टार खेलाडीलाई भित्राउन चाहन्छ । त्यसैले रोनाल्डोलाई रियलले बेच्ने सम्भावना पनि निकै बलियो छ ।
रोनाल्डोलाई क्लबकै कीर्तिमानी मुल्यमा भित्राउन सफल भएपनि युभेन्टसमा रोनाल्डो खुसी हुनेमा शंका छ । किनकी रोनाल्डोले युभेन्टसबाट रियलमा रहेकै आकर्षक तलब र सुविधा भन्दा बढी चाहन्छन । युभेन्टसले त्यो पुरा नगर्न सक्छ । तर, अहिलेको स्थितमा क्लब छाड्ने हो भने रोनाल्डोको लागि युभेन्टस अन्तिम विकल्प हुनेछ । रोनाल्डोलाई अन्य क्लबले प्रस्ताव समेत गरेको छैन र नेयमार रियल भित्रिए रोनाल्डोले बेन्चमा समय बिताउनुपर्ने हुन्छ ।
रोनाल्डोलाई १०० मिलियन युरोमा बेच्न सके अध्यक्ष पेरेजका लागि यो ठूलो सफलता हुनेछ । यता, इटालियन क्लबको लागि पनि । पछिल्लो समय इटालियन सिरी ए लिग ओझेलमा पर्दै गएको छ । बार्सिलोनाबाट नेयमार भित्राएपछि फ्रेन्च लिग पछ्याउने समर्थक बढेको थियो । रोनाल्डो भित्राउन सके ओझेलमा पर्दै गएको इटालियन सिरी ए पुन: लयमा फर्कने सम्भावना छ ।