एजेन्सी । कुनैपनि खेलको सबैभन्दा ठुलो प्रतियोगिता हो, विश्वकप । खेल प्रेमी तथा खेलाडीका लागि विश्वकप सबैभन्दा ठुलो चाड हो ।
सन् १९७५ मा इंग्ल्याण्डबाट सुरु भएको एकदिवसीय विश्वकप क्रिकेटको ११ औं संस्करण सम्पन्न भईसकेको छ । र,यसै महिना इंग्ल्याण्ड र वेल्समा १२ औं संस्करणको विश्वकप क्रिकेट हुँदैछ ।
इंग्ल्याण्डले सर्वाधिक ५ औं पटक प्रतियोगिता आयोजना गर्न लागेको हो । तर, उसले कुनै पनि विश्वकपको उपाधि उचाल्न सकेको छैन ।
क्रिकेटको जननी मानिने इंग्ल्याण्डलाई विश्वकपमा अभागी टोलीको रुपमा लिईन्छ । सर्वाधिक पटक फाइनलमा पराजित हुने टोली इंग्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ को संस्करणको फाइनलमा पराजित भएको थियो ।
यस पटकको विश्वकपमा भने इंग्ल्याण्ड बलियो टोलीको रुपमा रहेको छ । र, इंग्ल्याण्ड पहिलो पटक घरेलु मैदानमा उपाधि उचाल्न चाहन्छ ।
एकदिवसीय क्रिकेट वरियताको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले घरेलु समर्थक र घरेलु मैदानको फाइदा उठाउन सक्नेछ ।
यस्तै इंग्ल्याण्डको टिम समेत मजबुद रहेको छ । इयान मोर्गनको कप्तानीमा मैदान उत्रने इंग्ल्याण्डको ब्याटिङ लाइनअप र अलराउण्डर तर्फ निकै सन्तुलन देखिएको छ ।
आईसीसी ब्याटिङ वरियताको शीर्ष २० भित्र पर्ने ४ खेलाडी इंग्ल्याण्डसंग रहेको छ । यस्तै अलराउण्डरतर्फ ४ र बलिङतर्फ २ खेलाडी वरियताको शीर्ष २० मा रहेका छन् ।
जोय रुट, जोन्नी बेस्ट्रो, जोस बट्लर, इयान मोर्गन जस्ता अनुभवी खेलाडीले इंग्ल्याण्डको ब्याटिङ सम्हाल्नेछन् । यस्तै अलराउण्डतर्फ मोइन अली, क्रिस वाकोस्, बेन स्ट्रोक्स, आदील राशिद जस्ता खेलाडी चम्कने अनुमान गरिएको छ ।इंग्ल्याण्डको बलिङमा केहि समस्या देखिएको छ । यद्दपी बलरलाई अलराउण्डरले सहयोग गर्ने छन् ।
फास्ट बलिङमा लाइम प्लङकेट, डेभिड विलि, टम करन रहेका कारण त्यति समस्या नरहे पनि स्पिनरको रुपमा अल राउण्डर मोइन अली र आदील राशिदमा भर पर्नु पर्ने देखिएको छ ।
इंग्ल्याण्डले मे ३० मा दक्षिण अफ्रीकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
इंग्ल्याण्ड टिम :
इयान मोर्गन (कप्तान) जोय रुट, जोन्नी बेस्ट्रो, जासन रोय, जोस बट्लर, मोइन अली, क्रिस वाकोस्, बेन स्ट्रोक्स, आदील राशिद, लाइम प्लङकेट, डेभिड विलि, टम करन, जो डेन्ली, मार्क वुड ।