एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबले च्याम्पियन्स लिगको उपाधि नजितेसम्म आफुलाई सफल प्रशिक्षक भन्न नमिल्ने बताएका छन् ।
सिटीलाई यस सिजन तीन उपाधि दिलाए पनि प्रशिक्षक ग्वार्डिओलाले च्याम्पियन्स लिग नजितेसम्म आफु सफल नहुने बताए । यस सिजन सिटीले प्रिमियर लिग, काराबाओ कप र एफए कपको उपाधि जित्दै कीर्तिमान बनाएको थियो ।
तर, सिटी च्याम्पियन्स लिगमा टोटनहमसंग पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको थियो । जसको कारण प्रशिक्षक ग्वार्डिओला खुसी छैनन् ।
‘बार्सिलोनामा हुँदा हामी भाग्यशाली भयौं किनकि हामीले चार वर्षमा हामीले दुई पटक उपाधि जित्यौं । मानिसहरुले सोचेका थिए ममा केही खुबी छ त्यसैले हामीले च्याम्पियन्स लिग जित्यौ र यो सत्य हो,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यस क्लबमा कीर्तिमानी अंक र घरेलु लिग अविश्वसनीय रह्यो । तर, अन्य टिमभन्दा राम्रो हुँदा पनि हामीले च्याम्पियन्स लिग जित्न सकेनौ । यसको माग छ र हामी यसलाई जित्न चाहन्छौ ।’
प्रशिक्षक ग्वार्डिओलाले स्पेनिस क्लब बार्सिलोनामा रहदा २ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।