काठमाडौ । राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य विक्रम लामाले युवा खेलाडीको आगमनले राष्ट्रिय टिममा स्थान बनाउन कठिन हुने बताएका छन् ।
मैत्रिपुर्ण खेल अगाडी राष्ट्रिय टिमको अभ्यास शत्रमा रहेका बिक्रमले राम्रा खेलाडीले आगमनले टिममा प्रतिस्पर्धा बढेको स्विकारे ।
‘अहिले हामीसँग निकै राम्रा खेलाडी रहेका छन् । सिनियर, जुनियर सबै उत्कृष्ट छन् । यसपटक टिममा पर्न निकै कठिन हुनेछ ।’ राष्ट्रिय टिमका डिफेन्सिभ मिडफिल्डर बिक्रमले भने ।
‘सबैले राम्रो प्रदर्शन गरिरहेका छन् । ब्यक्तिगत रुपमा सबैको राम्रो प्रदर्शन छ । को हट्छ, को आउँछ ? भन्न सक्ने अवस्था छैन ।’ उनले थपे ।
खेलपाटीसँग कुरा गर्दै बिक्रमले राष्ट्रिय टिमको छनोट गर्न टेक्निकल टिमलाई समेत गाह्रो पर्ने बताए ।
‘यसपटक टेक्निकल टिमलाई पनि खेलाडी छनोट गर्न निकै गाह्रो पर्ने देखेको छु । धेरै प्रतिस्पर्धा बढेको छ । ठ्याक्कै भन्न सक्ने अवस्था छैन ।’ उनले भने ।
नेपालले जुनको पहिलो साता आफु भन्दा माथिल्ला वरियतामा रहेका मलेसिया र चाईनिज ताईपेईसंग मैत्रिपुर्ण फुटबल खेल्दैछ । दुवै टिम नेपाल भन्दा बलिया छन् ।
चाईनिज ताईपेई फिफा वरियतामा १२५ र मलेसिया १६८ औ स्थानमा रहेको छ ।
नेपालले आफ्नो डिफेन्सिभ गेमलाई पोख्त पार्दै आक्रमक फुटबल खेल्नुपर्ने बिक्रम बताउँछन् ।
‘हामीले अब खेल्ने दुबै टिम हामी भन्दा राम्रा छन् । हामीले डिफेन्स राम्रो बनाएर आक्रमणमा ध्यान दिनुपर्छ ।’ उनले भने ।
करिब ९ महिना चोटका कारण मैदान बाहिर रहेका बिक्रमले फुटबल करियरमा उत्कृष्ट पुनरागमन गर्दै गत बर्षको लिगमा मैदान फर्किएका थिए । गत बर्ष थ्री स्टारको कप्तानी गरेका उनीले लगत्तै राष्ट्रिय टिममा आफ्नो स्थान सुरक्षित गर्दै उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।
राष्ट्रिय फुटबल टिमका नियमित सदस्य समेत रहेका बिक्रमले नेपालको टिममा केहि नयाँ खेलाडी देख्न सकिने बताएका छन् ।
पछिल्लो समय कुवेतसँगको दुई मैत्रिपुर्ण खेलमा ६ नयाँ खेलाडीले डेब्युको मौका पाएका थिए । अजित भण्डारी, रवि शंकर पासवान, आशिष लामा, विमल राना, सुरज विश्वकर्मा र सन्तोष तामाङले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
मैत्रिपुर्ण खेलको लागि अहिले ४२ खेलाडी अन्तिम छनोटको तयारीमा छन् । स्विडिस प्रशिक्षक योहान कालिनले एएफसी यू–२३ च्याम्पियनसिप छनोट उत्कृष्ट प्रदर्शन गरेका र राष्ट्रिय टिममा रहेका खेलाडीलाई अभ्यास शत्रमा सामेल गराएका छन् ।