एजेन्सी । वेष्ट इण्डिजका कप्तान जेसन होल्डरले विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्द बदला लिन आफुहरु आतुर रहेको बताएका छन् ।
एसियाको उदाउँदो देशको रुपमा रहेको अफगानिस्तान पछिल्लो समय वेस्ट ईन्डिजविरुद्व हाबी हुँदै आएको छ ।
सन् २०१८ को विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्समा अफगानिस्तानले वेस्ट ईन्डिजलाई ३ विकेटले पराजित गरेको थियो । र फाइनल खेलमा वेस्ट ईन्डिजविरुद्व ७ विकेटको जित निकाल्दै अफगानिस्तानले दोस्रो पटक विश्वकपमा स्थान बनाएको थियो ।
हेड टु हेडका आधारमा ४ मध्य ३ मा अफगानिस्तानले बाजी मारेको छ । वेस्ट ईन्डिजले मात्र १ खेल जितेको छ ।
'विश्वकप छनोट प्रतियोगितामा हामीलाई हराएको अफगानिस्तानबिरुद्दको खेलको प्रतिक्षामा छौ ।’ होल्डरले भनेका छन् ।
'हेड टु हेडमा उनीहरु अघि छन् । त्यसैले अबको मौका हामी गुमाउन चाहान्नौ ।’ उनी थप्छन्, 'अफगानिस्तान बलियो टोली हो । जसले उत्कृष्ट नतिजा निकाल्दै आएको छ, तर छनोट प्रतियोगिताको नतिजा उल्ट्याउन हामी आतुर छौ ।’
१२ औं संस्करणको विश्वकपमा १० राष्ट्रले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । वेष्ट इण्डिज र अफगानिस्तानको खेल जुलाई ४ मा रहेको छ ।
विश्वकपको रोजाईको टिम के होला त ?
होल्डर भन्छन्, 'यो निकै कठिन कुरा हो । हामीले गत महिना शीर्ष स्थानको इङ्ल्याण्डबिरुद्द सिरिज बराबरी गरेका थियौं । आउने दिनमा जसले राम्रो क्रिकेट खेल्छ, उसैको पक्षमा नतिजा आउने छ ।’
कप्तान होल्डर आफ्नो टिमलाई विश्वकपमा कम आँकिएको टोली भन्न रुचाउँछन् ।
'हामी छनोट प्रतियोगितामार्फत आएका हौ । प्रतियोगितामा हाम्रो टोली निकै रुचाइएको थियो र दबाब सृजना भएको थियो ।’ होल्डर भन्छन्, 'विश्वकपमा हामीलाई कम आँकिएको छ, हामीबाट धेरै अपेक्षा गरिएको छैन ।’
उनले विश्वकपमा वेस्ट ईन्डिजले वरियतामा केही स्थान फड्को मार्ने विश्वास समेत ब्यक्त गरे ।