एजेन्सी । सिरि ए फुटबलमा युभेन्ट्सले सिजनको अन्तिम घरेलु मैदानको खेलमा एटलान्टासंग बराबरी खेलको छ । आईतबार राति भएको खेलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
यसै सिजन क्लब छाड्न लागेका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई घरेलु मैदानमा बराबरीको नतिजा सहित युभेन्ट्सले बिदाई गर्यो । युभेन्ट्सका लागि मारियो मान्डाजुकीले बराबरी गोल गरे ।
जुआन क्युराडोको क्रसलाई सदुपयोग गर्दै ८० औ मिनेटमा मान्डाजुकीले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका थिए । दोस्रो हाफमा युभेन्ट्सका फेडेरिको बर्नार्डेस्की रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।
सोही कारण घरेलु मैदानमा खेलिएको अन्तिम खेलमा एलेग्रीको बिदाई खेल खल्लो हुने अवस्था देखिएको थियो । तर गोलको लामो खडेकी तोड्दै मान्डाजुकीले युभेन्ट्सका लागि बराबरी गोल गर्न सफल रहे ।
खेलमा अग्रता पाहुना टोली एटलान्टाले ३३ औ मिनेटमा जोसिप इलिसीको गोलबाट लिएको थियो । बराबरीले एटलान्टाले समेत अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
तालिकामा तेस्रो स्थानको एटलान्टाले ६६ अंक जोडेको छ । लिग उपाधि जितेको युभेन्ट्सले ९० अंक पुर्राएको छ ।
खेलपछि युभेन्ट्सलाई उपाधि ट्रफी प्रदान गरिएको थियो ।