एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड ग्यारेथ बेल आफ्नो टिममा फिट नभएको बताएका छन् । पछिल्लो समय बेलले वर्नावेउ छाड्ने अनुमान गरिरहेको समय मुख्य प्रशिक्षक जिदानको सो भनाई आएको हो ।
लिगको अन्तिम खेलमा रियल मड्रिड घरेलु मैदानमा रियल बेटिससंग २–० गोल अन्तरले पराजित भयो । तर मुख्य प्रशिक्ष जिदानले बेललाई बेन्चमा राखेका थिए । अघिल्ला दुई खेलमा उनले बेललाई टिम बाहिरनै राखेका थिए ।
२९ बर्षका फरवार्ड पछिल्लो समय प्लेईङ सेटमा स्थान बनाउन संघर्षरत छन् । गत मार्चमा जिदान क्लबको मुख्य प्रशिक्षक बनेर आएपछि बेलको भविष्यलाई लिएर अनिश्चितता प्रकट हुदै आएको छ ।
रियल बेटिससंग घरेलु मैदानमा पराजित भएपछि बेलको भविष्यलाई लिएर जिदानसंग प्रश्न सोधिएको थियो । जिदान भने, 'मलाई थाहा छैन, यो उनको अन्तिम खेल हो वा होईन । मलाई केही थाहा छैन चिज कसरी अघि बढ्छ भनेर ।'
'म माफ माग्न चाहन्छु । उसले खेल्न पाएन । तर कसैलाई समेत थाहा छैन, के हुन्छ भनेर । यदी मलाई लाग्छ खेलाडी टिमका लागि फिट छैन भने मैले त्यही गर्छु, जुन मलाई राम्रो लाग्छ ।' उनले भने ।
'कसैले पनि बेलले टिमका लागि गरेको चिजलाई परिवर्तन गर्न सक्दैन । तर प्रशिक्षकको रुपमा म वर्तमानमा बाँच्न आवश्यक छ । मैले पछिल्लो केही साता यता अन्य खेलाडी समेत हेरिरहेको छु ।' उनले थपे, 'मैले तब मात्र निर्णय गर्छु, जब मलाई ठिक लाग्छ । र मैले क्लबको उत्कृष्टताको लागि काम गर्छु ।'
बेलले रियलबाट चार च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे लगायतको उपाधि जितेका थिए । उनले रियलमा ६ बर्ष बिताएका छन् ।
रियलको प्रशिक्षकमा जिदानको पुनरागमनले बेलको मड्रिड बसाईमा खतराको घण्टी बजेको धेरैको अनुमान छ ।