एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको अन्तिम लिग खेलमा रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा रियल मड्रिड रियल बेटिससंग २-० गोल अन्तरले पराजित भएको हो ।
सिजनको अन्तिम खेलमा रियल मड्रिड घरेलु मैदानमै पराजित भएको हो । बेटिसलाई जित दिलाउन लोरेन मोरोन र जेसेले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल दुई गोल गर्दै बेटिसले रियललाई स्तब्ध बनाएको हो ।
खेलको ६१ औं मिनेटमा मोरोनले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा जेसेले गोल गर्दै बेटिसलाई २-० को जित दिलाए ।
यता रियलले घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न सकेन । उसका करीम बेन्जिमा, जुनियर भिनिसिस लगायतका खेलाडीले केहि उत्कृष्ट अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
यो हारसंगै रियलले तेस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । रियलले ३८ खेलबाट ६८ अंक जोड्यो । बेटिस ५० अंक जोडेर दशौँ स्थानमा रह्यो ।