एजेन्सी । घरेलु टोली जिम्बाबे, पाकिस्तान र अष्ट्रेलियाबीचको टी- ट्वान्टी ट्राई सिरिज क्रिकेटको फाइनलमा पाकिस्तान र अष्ट्रेलिया भिड्ने भएका छन् । लगातार तीन खेल गुमाएको जिम्बाबे भने बाहिरिएको छ ।
हरारेमा बुधबार भएको चौथो खेलमा जिम्बाबे पाकिस्तानसंग ७ विकेटले पराजित भएको थियो । यो हारसंगै जिम्बाबे एक खेल नखेल्दै सिरिजको उपाधि होडबाट बाहिरिएको हो । तीन राष्ट्रबीचको सिरिजको अंक तालिकामा २ खेलमा २ जित निकालेको अष्ट्रेलिया शीर्षमा रहदा ३ खेलमा २ जित निकालेको पाकिस्तान दोस्रो स्थानमा छ । अंकविहिन जिम्बाबे पुछारमा छ ।
टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १६२ रन जोडेको थियो । जिम्बाबेका सोलोमोन मिरेले ९४ तथा तरिसाई मुसाकाण्डाले ३३ रन जोडे । पाकिस्तानका मोहमद अमीर,फहीम अस्राफ, शादब खान र हुसेन टलटले समान एक एक विकेट लिए ।
जिम्बाबेले दिएको १६३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा फखर जमानले ४७ तथा हुसेन टलटले ४४ रन जोडे । त्यस्तै कप्तान सर्फराज अहमेदले अविजित ३८ रनको योगदान दिए । क्रिस्टोफोर बोबी, विलिङटन मासाकाड्जा र सोलोमोन मिरेले समान एक एक विकेट लिए ।