एजेन्सी । म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्होले बार्सिलोनाका स्टार लियोनल मेस्सीले यस सिजन प्रतिष्ठित अवार्ड बालोन डि’ओर जित्नेमा आशंका व्यक्त गरेका छन् ।
बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको कारण मेस्सीले सन् २०१९ को बालोन डि’ओर पाउने सम्भावना कम भएको प्रशिक्षक माउरिन्होले बताएका छन् ।
‘मेस्सीले यस सिजन बालोन डि’ओर जित्ने कुरामा मलाई आशंका छ किनकि उनी च्याम्पियन्स लिगमा असफल भए ।’ प्रशिक्षक माउरिन्होले गिभमि स्पोर्ट्ससंग भने ।
क्रिस्टियानो रोनाल्डोको टिम युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आयाक्ससँग पराजित भएपछि मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डि’ओर जित्ने सम्भावना बलियो रहेको छ ।
तर, बार्सिलोना पनि सेमिफाइनलमा इन्ग्लिश क्लब लिभरपुलसंग पराजित भएपछी मेस्सीको सम्भावना न्यून भएको प्रशिक्षक माउरिन्होले दाबी गरे । यसअघि प्रशिक्षक माउरिन्होले मेस्सीले नै बालोन डि’ओर जित्ने दाबी गर्दै आएका थिए ।
यस्तै प्रशिक्षक माउरिन्होले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा मेस्सीको प्रर्दशनले उनलाई ‘फुटबलका देवता’ बनाएको पनि बताए ।