एजेन्सी । रियल मड्रिडका स्ट्राइकर करीम बेन्जिमाले युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो महान खेलाडी भएको बताएका छन् ।
बेन्जिमाले पुर्व सहकर्मी रोनाल्डो रियलका महान खेलाडी भएको तर उनले अचानक क्लब छाडेको बताए । रोनाल्डोले क्लब छाड्ने घोषणा गर्दा आफु निकै आश्चर्यमा परेको समेत बेन्जिमाले बताए ।
‘रोनाल्डो महान खेलाडी हो । तर, उनले छाडे,' स्पेनिस पत्रिका मार्कासंग बेन्जिमाले भने । यस्तै बेन्जिमाले रोनाल्डोले क्लब छाडेपछि आफु टिमको लिडर भएको बताए ।
पोर्चुगिज स्टार रोनाल्डोले रियलमा ९ वर्ष बिताएका थिए । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोले रियलबाट ४५० गोल गरेका थिए ।
तर, रोनाल्डो यसै सिजन युभेन्ट्स आएका थिए । रोनाल्डोलाई युभेन्ट्सले १०५ मिलियन पाउण्डमा टुरिन ल्याएको थियो । रोनाल्डोले युभेन्ट्सबाट इटालियन सिरी ए समेत जितिसकेका छन् ।
यस्तै फ्रान्सेली स्टार बेन्जिमाले प्रशिक्षक जिनेदान जिदानसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गरेका छन् ।
‘मेरो उँहासँगको सम्बन्ध विशेष छ । हाम्रो सम्बन्ध लामो समयअघि सुरु भयो । यो साथीको सम्बन्ध भन्दा पनि उ मेरो जीवनमा परिवार जस्तै छ,' बेन्जिमाले भने, 'तर यो हैन कि उनले मेरो बारेमा आलोचना गर्दैनन् । उ मेरो दाईजस्तै हो र मलाई धेरै सहयोग गर्नुहुन्छ ।’
रियल छाडेको ९ महिनापछि जिदान पुन रियल फर्किएका थिए ।